काठमाण्डाै,९ माघ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ओलीसँगै श्रीमती राधिका शाक्यलाई पनि संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गरेकाे र पीसीआर गर्दा पनि पोजेटिभ देखिएपछि आफ्नै निवासमा आइसोलेशनमा बसेकाे ओलीको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार संक्रमण पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।
काेराेना संक्रमणपछि ओलीले आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ । वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्ने भनिए पनि अब प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने तयारी भएको एमालेले जनाएको छ ।







