काठमाण्डाै,७ माघ । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोका कारण अबरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजे खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै अबरुद्ध भएको चितवनका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । सडकमा भित्ताको डाँडो नै खसेको उनलेे बताए ।

अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम सुरु गरिसकेको र थप अर्को डोजर पनि ल्याउने तयारी भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । सडकमा ठूला ठूला ढुङ्गासमेत खसेकाले हटाउन कम्तीमा पनि तीन-चार घण्टा लाग्ने अधिकारीले बताए ।

रातिदेखि नै सडक ठप्प भएकाले दुवैतर्फ गाडीको लामो लाइन छ । यात्रुले गाडी भित्रै रात बिताएका छन् । यस्तै, प्रहरीले सडक खुलाउन समय लाग्ने भएकाले नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा तत्काल नगर्न आग्रह गरेको छ ।

सडक खुलेपछि मात्रै यात्रामा निस्कन चितवनका एसपी ओम अधिकारीको आग्रह छ । सडकमा अहिले नै गाडीको लामो जाम भएकाले यसमा फेरि अन्य गाडी थपिँदा थप समस्या निम्तने भन्दै उनले सडक नखुलुञ्जेल यात्रा नगर्न अनुरोध गरेका छन् ।