काठमाडौं, ५ पुस । नेपालमा बुधबार थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो संख्या एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै हो ।
पछिल्लो २४ घण्टामा देशभर १८ हजार ७८ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६१३ जना कोरोना संक्रमित निकाे भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेका छन् ।






