काठमाडौं,२ माघ । नेपाल सरकारले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले आज अपराह्न काबुलस्थित हमिद कारजायी अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहमा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबरोभलाई नेपाली जनताका तर्फबाट प्रदान गरिएका मानवीय राहत सामग्री हस्तान्तरण गरेकि हुन् ।

अफगानिस्तानको अहिलेको प्रतिकूल मौसम तथा विषम राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी त्यहाँका नागरिकलाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता जुटाउन भारतसहितका देशले सहयोग गरेसँगै परराष्ट्रमन्त्री डा नारायण खड्काको अगुवाइमा नेपालबाट औषधि, लत्ताकपडा र घरायसी सामान संकलन गरि आजै काबुल पठाइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, अवैतनिक महावाणिज्य दूतावास नेपाल, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका शीर्ष निकाय, संघसंस्था र व्यक्तिले सहायता सामग्री उपलब्ध गराएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।