काठमाडौ,१ माघ ।
सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम भएको भारतले जनाएको छ ।
नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेका बेला भारतीय पक्षबाट उक्त प्रतिक्रिया आएको हो ।
सीमामा भारतीय ज्यादती बढेको भन्दै बिराेधका स्वरहरू बढ्न थालेपछि नेपाल भारतको सीमा समस्याबारे भारतीय दूतावासले प्रस्टीकरण दिएको हो ।
नेपाल स्थित भारतीय दुतावासका प्रवक्ताले दिएको प्रतिक्रियामा सीमा विवादबारे दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा स्पष्ट पारेको छ । ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरूलाई सधैँ हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
भारत नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । 





