बुटवल,२३ पुस ।
नेपालमा शुक्रबार थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ८ हजार २७२ र एन्टिजेन विधिबाट ६ हजार ६९९ जनामा परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ५२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ८४१ जना पुगेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । यसअघि आइतबार २१६ जनामा, सोमबार ३२६ जनामा, मंगलबार ३९३ जना र बुधबार ४३५ जना र बिहीबार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै, आज थप २६२ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ८ लाख १३ हजार ७०९ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको मृत्यु भएको बिवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ११ हजार ६०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छ ।






