काठमाडौं,२३ पुस ।
नेपालमा थप २४ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गरी नेपालमा पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी गराएको हो ।

२४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

‘पुस महिनामा संकलित जम्मा कोरोनाभाइरसका १ हजार १४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटामा नमुनाहरु एस जिन नेगेटिभ पत्ता लागेको र एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो,’ मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।