बुटवल,२२ पुस । नेकपा मालेले भारतले जारी गरेको पछिल्लो नक्शालाई विस्तारवादी जालझेलको निकृष्ट नमूनाकाे संज्ञा दिएको छ ।
पार्टीका महासचिव सीपी मैनालीले आज एक प्रेस वक्तव्य जारी गरि लिम्पीयाधुरादेखि पूर्वको नेपाली भूभाग कुटी, गुन्जी, नाभी, कालापानी सम्मै पनि कुटीयाङ्ती (काली अर्थात महाकाली नदी) भन्दा पश्चिमपट्टी पार्ने गरी आएको भन्दै भारतकाे पछिल्लो नक्शा विस्तारवादी जालझेलको निकृष्ट नमूना भएको जनाएका हुन् ।

भारतको उक्ति कार्यकाे अविलम्ब भारत सरकार समक्ष औपचारिक बिरोध जनाई त्यसलाई सच्याउनका निम्ति कुटनैतिक पहल गर्न र आवश्यकता परेमा यस मामिलालाई अन्तर्राष्ट्रियकरण गर्न मालेले सरकारसंग माग समेत गरेकाे छ ।
भारत सरकारले लिपुलेकदेखि निस्केको उसैद्वारा नामाकरण गरीएको नक्कली काली नदीलाई कुटीयाङ्ती’ नामाकरण गरी दशौं संस्करणको नयाँ नक्सा जारी गरेको भन्दै विज्ञप्तिमा लिम्पीयाधुरादेखि पूर्वको नेपाली भूभाग कुटी, गुन्जी, नाभी, कालापानी सम्मै पनि कुटीयाङ्ती (काली अर्थात महाकाली नदी) भन्दा पश्चिमपट्टी पार्ने गरी आएको उस्को पछिल्लो नक्शा विस्तारवादी जालझेलको निकृष्ट नमूना भएको जनाइएको छ ।

लिम्पीयाधुराबाट निश्रृत काली नदीलाई स्थानीय शौका भाषामा कुटीयाङ्दी भनिने जनाउँदै विज्ञप्तिमा सोही काली नदीनै नेपालभारत बीचको अन्तर्राष्ट्रिय सिमाना भएको र यो वास्तविकतालाई आजसम्मका दस्तावेज र मानवीय साछीलेनै यथेष्ट प्रमाणित गरिरहेकाे दाबी गरिएको छ ।

भारतीय विस्तारवादी शासन–प्रशासनको यस्तो निर्लज्ज कृत्यलाई टुलुटुलु हेरी बस्नु सरकारको भारत भक्तिको पराकाष्ठा भएको भन्दै विज्ञप्तिमा अविलम्ब भारत सरकार समक्ष औपचारिक बिरोध जनाई त्यसलाई सच्याउनका निम्ति कुटनैतिक पहल गर्न र आवश्यकता परेमा यस मामिलालाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसंग माग गरिएकाे छ ।
नेकपा मालेले पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय विदा सहित भब्य कार्यक्रमका साथ मनाउने वातावरण बनाउन पनि सरकारसँग माग समेत गरेकाे छ ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको देश निर्माण र परचक्रीको आक्रमणबाट देशको सुरक्षा गर्ने ऐतिहासिक महान कार्यले गर्दानै हामीले आज नेपाल देश पाएका छौं भन्दै यसप्रति समस्त नेपाली जनताले पृथ्वीनारायण शाहप्रति आभार प्रकट गर्नैपर्ने जनाएको छ ।
मुलुकको एकीकरण गर्ने, साम्राज्यवादी फौजी एवम् सांस्कृतिक अतिक्रमणबाट मुलुकलाई सुरक्षित गर्ने, नेपाली समाजलाई आत्मनिर्भरताका लागि स्वावलम्बनको पाठ सिकाउने, भ्रष्टाचारको बिरोध गर्न सिकाउने र नेपाली जनतालाई मिलिजुली उन्नति गर्न सिकाउने जस्ता कार्यहरूले उनलाई महान बनाएको महासचिव मैनालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान र आउने पीढीलाई त्यस्तै कार्यहरूमा लाग्न प्रेरित गर्ने वातावरण बनाउनु सरकारको परम दायित्व भएको जनाउँदै विज्ञप्तिमा ति महान विभूतिको योगदानप्रति कृतज्ञ बनी रहन नेपाल सरकारले पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय विदा सहित भब्य कार्यक्रमका साथ मनाउने वातावरण बनाउन माग गरिएको छ ।