काठमाण्डौ,२१ पुस ।
नेपालमा कोरोना संक्रमण दर फेरि बढेको छ । बुधबार देशभर ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी १० हजार २६७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव २३ प्रतिशत अर्थात् ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही हप्तायता संक्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप २३९ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म आठ लाख १३ हजार १७६ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा पाँच हजार २२५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४६ हजार तीन सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म एक करोड आठ लाख चार हजार ४१३ जनाले पूर्ण मात्रा खोप लगाएका छन भने एक करोड ४७ लाख १७ हजार २२६ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
––––––