काठमाण्डौ,२० पुस ।
भोलि बुधवारदेखि शनिवारसम्म देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज रातिदेखि नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभाव भोलिदेखि शनिवारसम्म रहने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यूनचापीय प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य असर देखिइसकेको र सुदूरपश्चिममा भोलिदेखि पानी पर्न थाल्ने मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

आइतवारदेखि भने सो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।

सो प्रणालीको असर सुदूरपश्चिममा बढी र प्रदेश १ र २ मा कम पर्ने सम्भावना रहेको मौसमविद् बासीले बताइन् ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने र सामान्य प्रभाव भने देशभरि नै पर्ने जनाइएको छ ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

काठमाण्डौ उपत्यकामा आज र भोलि कम तथा बिहीवार, शुक्रवार र शनिवार बढी प्रभाव पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।