काठमाण्डौ,२० पुस ।
नेपालमा कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर नौ हजार ३२९ जनाको नमुना परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
परीक्षण गरिएका नमुनामध्ये चार दशमलव २१ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
पछिल्ला केही हप्तायता संक्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो । यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या फेरि पाँच हजार नाघेको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक यही पुसको १० गते सक्रिय संक्रमितको संख्या पाँच हजारभन्दा तल झरेको थियो । तर आज सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २६३ जना कोरोना संक्रमित निको भएका छन भने तीन जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म आठ लाख १२ हजार ९३७ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ६०१ जना संक्रमितको मृत्यु भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यससँगै नेपालमा अहिलेसम्म एक करोड सात लाख १० हजार सात सय जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ४५ लाख ६४ हजार पाँच सय ३३ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।






