प्रकाश खनाल
बुटवल,१९ पुस ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले नियामक निकायको कमजोर प्रस्तुतीका कारण केही सहकारी संस्थाहरुमा बेथिति देखिएको बताएका छन् ।

सहकारी संस्थाहरुलाई नियमन गर्ने अधिकार हाल स्थानीय तहलाई भएको भन्दै उनले स्थानीय तहबाट आबस्यक अनुगमन तथा निर्देशन नहुँदा केही सहकारी संस्थाहरुमा बेथिति देखिएको बताए ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ आंै वार्षिक साधारणसभा बारे जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै प्रमुख कार्यकारी अधिकृत गुरागाईले केही सहकारीहरुले गलत गरेकै आधारमा सबै सहकारीहरु खराब हुन् भनेर भन्न नमिल्ने जिकिर गरे ।

अधिकांस सहकारी सदस्यहरुमा सहकारी संस्थाहरुको बारेमा आवश्यक ज्ञान नहुँदा सदस्यहरु नै मारमा पर्ने गरेको गुनासा आउने गरेको भन्दै उनले सहकारीका सदस्यहरु बर्षमा एक दिन हुने साधारण सभामा पुरै समय बसेर त्यसबारे चासो राख्न आवश्यक रहेकोमा जोड दिए ।

सहकारीहरुले कानून विपरित गएर चर्को ब्याजदर कायम गर्ने तथा विभिन्न शुल्क तथा कारबाहीको बहानामा सदस्यहरुलाई नै ठग्ने प्रवृत्तिको अन्त्य गर्नका लागि स्वयम् सहकारी सदस्यहरु नै सचेत हुनु पर्ने उनको भनाई थियो ।

बैंकका सञ्चालक समिति सदस्य माधवलाल देवकोटा र लुम्बिनी बिशिष्टिकृत सहकारी संघका अध्यक्ष डा.खगराज शर्माले केही सहकारीहरुले गर्ने लगत कामका कारण समग्र सहकारी क्षेत्रले आलोचना खेप्नु परेको भन्दै नियमन गर्ने निकायले आफ्नो भूमिका ससक्त बनाउनुपर्ने आवस्यकता औल्याए ।

ईकाईगत रुपमा साधारणसभा गर्ने बैंकको नीति अनुसार लुम्बिनी प्रदेशको साधारणसभा मंगलबार बुटवलमा हुँदै छ ।

मुलुकभरका १४ हजार ५ सय बढी सहकारी संस्थाहरु आवद्ध रहेको बैंकको लुम्बिनी प्रदेश स्तरीय साधारणसभामा बिभिन्न जिल्लाहरुबाट १ हजार ६१२ वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहने राष्ट्रिय सहकारी बैंक बुटवल शाखाका प्रबन्धक नारायण बेलबासेले जानकारी दिए ।

लुम्बिनीबाट छनोट भएका ५ प्रतिनिधि मात्र केन्द्रिय साधारणसभामा सहभागि हुन पाउने जनाइएको छ । लुम्बिनीसँगै बाँकी एकाईहरुमा क्रमशः पुस २५ गतेसम्म साधारणसभा सम्पन्न गरी छनोट भएका एकाई प्रतिनिधिहरुको सहभातिामा पुस ३० गते काठमाण्डौंमा केन्द्रिय साधारणसभा सम्पन्न हुने बैंकले जनाएको छ ।

बैंकले ६८ वटा शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा पुर्याउँदै आएको छ । बैंकमा आबद्ध सहकारीहरु मार्फत ४० लाख बढी जनतालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सेवा प्रदान हुँदै आएको छ । बिभागीय प्रमुझ नवीन कुमार कार्कीका अनुसार १८ वर्षको अवधिमा बैंकको सेयर पूँजि २ अरोड, निक्षेप ६६ अर्ब ३४ करोड संकलन गरी ३५ अर्ब ९१ करोड कर्जा प्रवाह गर्दै कुल ७१ अर्ब ६५ करोड कारोबार गर्न सफल भएको बैंकका सुचना अधिकारी राजेश श्रेष्ठद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले केही सहकारीहरुमा चरम बेथिति भएका गुनासा आउने गरेको भन्दै सिमित संख्यामा रहेका त्यस्ता सहकारीहरुका कारण राम्रो गर्ने सहकारीहरुले समेत बदनामी कमाउन बाध्य भएको बताए ।

नियामक निकायले गलत गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै उनले सहकारी बैंकले पनि सेयर सदस्यहरुको बचत सूरक्षीत गर्ने खालको रणनीति अख्तियार गर्नुपर्नेमा जोड दिए ।