काठमाडौँ,८ असार ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।

सोमबार अपराह्न पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो । एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेल सुझाव संकलनका क्रममा सुर्खेत पुगेका थिए ।

यसअघि कार्यदलले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सुझाव संकलन तथा भेला गरेको थियो। त्यसपछि उनी कार्यदलको टोलीसँगै सुर्खेत पुगेका हुन् ।

पाैडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । उनलाई पक्राउ गर्न अघि काठमाडौँ भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको थियो ।