बुटवल,१९ पुस ।
रुपन्देहीको तिलोत्तमामा आगामी माघ १३ गतेदेखि औद्योगिक कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ ।
।
तिलोत्तमा चेम्बर अफ कमर्सको आयोजनामा तिलोत्तमा–५ मेला मण्डप मणिग्राममा माघ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने महोत्सवमा १० करोड बढी कारोबार हुने अपेक्षा गरिएको छ ।
मेला आयोजक तिलोत्तमा चेम्बर अफ कमर्सले सोमबार तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारी तीब्र पारिएको जनाएको हो ।
स्थानीय वस्तु तथा सेवाको बजार प्रवर्द्धन गर्ने एवं उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको महोत्सवले निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने, स्थानीय उत्पादनमा गुणात्मक सुधारगरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गुग्ने आयोजकको बिश्वास छ ।
मेलामा कृषिजन्य उत्पादनको बजार प्रवर्द्धन गर्ने, तिलोत्तमा आसपासका अन्य पर्यटकीय स्थलहरुको पहिचान गरी विकासमा सहयोग पुर्याउने लक्ष्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालले जानकारी गराए ।
देश–विदेशका व्यवसायीहरुसंग अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने तथा कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने लक्ष्य लिइएको नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका महासचिब जेपी कंडेलले बताए ।
तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालको सभापतित्व र नेपाल चेम्बर अफ कमर्स, लुम्बिनीका महासचिब जेपी कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं १ का अध्यक्ष तामनाथ पाण्डे,वडा नं ५ का वडा अध्यक्ष चेतनारायण भण्डारी, तिलोत्तमा चेम्बर अफ कमर्सका उपाध्यक्ष रामप्रसाद पाण्डे,महासचिब बिष्णु बराल लगायतले मेलाको उदेश्य र लक्षका बारेमा आ आफ्नो भनाई राखेका थिए ।
मेलामा १० करोड बराबरको कारोबार तथा २ लाख दर्शकले अबलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।
महोत्सवमा कृषि व्यवसाय सम्बन्धी गोष्ठी, ताजा तरकारी तथा फलफूल प्रर्दशनी, आधुनिक कृषि पेभिलियन, होटल व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन गोष्ठी, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहने छन् ।
यसैगरी मेलामा राष्ट्रिय स्तरको सांस्कृतिक एवं हास्य व्यंग कार्यक्रम, स्थानीय गीत एवम् नृत्य, डान्स आइडल सहितको विविध सांस्कृतिक कार्यक्रम, लोक दोहोरी प्रतियोगिता लगायतका कार्यक्रम रहेका छन् ।
कूल ३ सय स्टल रहने मेलामा १५ वटा तिलोत्तमाका महिला कृषक समूहको स्टल रहने बताइएको छ् ।






