काठमाण्डाै,१९ पुस । माओवादी केन्द्रको पदाधिकारी आज टुंगो लाग्ने भएको छ । आज बस्ने नवनिर्वाचित केन्द्रीय समिति बैठकले पदाधिकारीकाे टुंगो लगाउने तयारी छ ।
हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेर्सँगै आठौँ महाधिवेशन सकिएको छ ।
खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको हो ।
आन्तरिक लोकतन्त्रलाई अवरोध गर्दै अध्यक्षले घोषणा गरेको अपुरो केन्द्रीय समितिलाई अनुमोदन गरेर महाधिवेशनको कर्मकाण्ड सकेको भन्दै आलोचना भएको छ । आज बस्ने माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समिति बैठकले १५ पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ ।
३१ वर्षदेखि नेतृत्व गर्दै आउनुभएका प्रचण्ड फेरि अध्यक्षमा चयन हुने निश्चित छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा समस्या नभए पनि महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी रहेको छ । पम्फा भुसाल र शक्तिबहादुर बस्नेतको पनि महासचिवमा दाबी रहेको बताइएको छ । पदाधिकारीमा करिब करिब सहमति भइसकेको प्रचण्डले हिजै बताएका थिए ।






