बुटवल,१८ पुस ।
स्थानीयहरुसँग सरोकार नगरी कालिका क्याम्पसले लाईब्रेरी बनाउन लागेको भन्दै बुटवल उपमहानगरपालिका वडा नं १० रामनगरका बासिन्दा बिरोधमा उत्रिएका छन् ।
आफुहरुले भूमाफियाबाट जोगाएर संरक्षण गरेर राखेको जग्गामा लाईब्रेरी बनाउदा जग्गा संरक्षणदाता रामनगर क्षेत्र विकास समितिसँग कुनै छलफल नगरेको स्थानीयहरुको गुनासो छ ।
रामनगर क्षेत्र विकास समितिले आज एक आम सभाको आयोजना गरी आफुहरुले संरक्षण गरेको १३ कट्ठा जग्गामध्ये १० कट्ठा कालिका मानवज्ञान माविलाई दिएको र बाँकी ३ कट्ठामा समितिले बहुउदेस्सीय भवन बनाउने सहमति बिपरित कलेजले समितिलाई थाहै नदिई लाइब्रेरी बनाउन खोज्नु दुखद भएको समितिका अध्यक्ष झपट बहादुर गुरुङले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस वडा नं १० का सभापति किशन बहादुर थापा,नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष दीलिप सुनार,एमालेका नेता टंक कुमार खड्का,राप्रपाका कमलध्वज मल्ल,राष्ट्रिय जनमुक्ति पार्टीका केशर कुमार गुरुङ,दुर्गा मन्दीर व्यवस्थापन समितिका इन्द्रध्वज मल्ल,सयपत्री युवा क्लबका अध्यक्ष बिशाल कार्की लगायतले स्थानीय जनताहरुले संरक्षण गर्दै आएको जग्गामा भवन बनाउदा सरोकारवालाहरुसँग छलफल गरेर सहमति गर्नु उपयुक्त हुने भन्दै सरोकारवाला पक्षसँग छलफलै नगर्नु दुखद भएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० का अध्यक्ष पदमबहादुर थापाले भने उक्त जग्गा विद्यालयको नाउमा गइसकेकोले विद्यालयले लाइब्रेरी बनाउदा बिरोध गर्न नहुने बताए ।
कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले भने उक्त लाईब्रेरी क्याम्पसले बनाउन लागेको नभई प्रदेश सरकारले बनाउन लागेको प्रतिक्रिया दिए ।
प्रदेश सरकारले पिएचडि गर्ने विद्यार्थीका लागि लक्षीत गरी रिसर्च सहितको लाइब्रेरी बनाउन लागेको बताउदै क्याम्पस प्रमुख पाठकले त्यस ठाउमा लाइब्रेरी बनाउदा स्थानीयलाईनै फाइदा पुग्ने बिचार ब्यक्त गरे ।
समितिका अध्यक्ष गुरुङको सभापतित्व र वडा अध्यक्ष थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम तिलक पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।







