काठमाडौं,१८ पुस । आजका लागि बाेलाइएकाे प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक २२ गतेसम्मका लागि स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा ‘विशेष कारणबश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिएअनुसार प्रतिनिधि सभाको बैठक अब यही पुस २२ गते दिउँसो १ बजे बस्ने छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको बताइएकाे छ ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ । हाल माओवादी केन्द्रको महाधिवेशनमा नयाँ कार्यसमिति चयन प्रक्रिया सुरु भएको छ ।

आज दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन गर्ने तयारी छ ।