काठमाण्डौ,१७ पुस ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने नीति कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताए ।

अनलाइन पत्रकार संघ, नेपालद्धारा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कार्कीले अनलाएन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई पनि आग्रह गरे ।

अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारहरुसँगै बसेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कार्कीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं दृढतापूर्वक उभिने दोहोर्याए ।

मन्त्री कार्कीले देशको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउदै देशमा दीगो शान्ति, विकास, सुशासन र समृद्धि भएमात्रै सञ्चार क्षेत्रको भविष्य सुुरक्षित हुने स्पष्ट पारे ।