बुटवल, १७ पुस ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जनालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी सभापति देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जनालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी गराएका हुन् ।

केन्द्रीय सदस्य मनोनीत हुनेमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहितको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।