बुटवल,१७ पुस ।
तिनाउ दानव करीडोर पिडित संघर्ष समितिले थप आन्दोलनको घोषणा गरेको छ
संघर्ष समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत पुस २० गते नगरपालिका गेट अगाडि थाली थटाएर प्रदर्शन गर्ने,पुस २२ गते नगरपालिका गेट अगाडि अर्घनग्न प्रदर्शन गर्ने र त्यती गर्दा पनि माग सुनुवाई नभए पुस २५ गते नगरपालिकाका वडा कार्यालय सहित नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम रहेका छन् ।
साथै त्यतिगर्दा पनि सुनाइ नभएमा जनप्रतिनिधि लाई सामाजिक बहिस्कार गर्ने कार्यक्रम तय भएको संघर्ष समितिका अध्यक्ष आत्मा बहादुर रानाले जानकारी दिए ।
माग सम्बोधनको लागि शान्तिपुर्ण प्रदर्शन, नगरपालिका घेराउ, राजनीतिक दल सहितको प्रतिबद्धता सभा गर्दा पनि नगर प्रमुख शिवराज सुवेदीले माग सम्बोधन गर्नु त परै जावस् संघर्ष समितिसँग भेटघाट गर्न समेत नमानेपछि बाध्य भएर दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको संघर्ष समितिका सल्लाहकार बीरेन्द्र बहादुर बिकले बताए ।
पिडित जनताको माग सुनाइ गर्नुको साटो नगर प्रमुख सुवेदीले संघर्ष समितिसँग भेट्न नमान्नु , उल्टै आन्दोलनरत जनताको विषयमा नगर प्रमुख र केहि जनप्रतिनिधिहरुले विभिन्न भ्रम सिर्जना गर्दै हिडेको संघर्ष समितिको आरोप छ ।
संघर्ष समितिका अध्यक्ष आत्मा बहादुर रानाको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष राजु शाही,कोषध्यक्ष रोहित शाह लगायतले आफुहरुका माग बारे चरणवद्ध आन्दोलन गर्दा समेत नगरपालिकाले सुनुवाई गर्नुका साथै आन्दोलन प्रतिनै भ्रम फैलाउदै हिडेकोले बाध्य भएर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए ।
जनताको मत चल्ने,कर चल्ने तर जनता किन नचल्ने ? उनिहरुले प्रश्न गरे ।
आफुहरु विकास बिरोधी नभएको भन्दै उनिहरुले जनता बिनाको बिकास कसका लागि ? उनिहरुको प्रश्न छ ।
उनिहरुले तिनाउ दानव करिडोर पीडित जनतालाई उचित क्षतिपुर्ती सहित ब्यवस्थापन गर्नुपर्ने माग गरे ।
आफुहरुका मागको बिषयमा यसअघि बिभिन्न राजनीतिक दल, स्थानीय सरकार, नगरप्रमुख र प्रदेश सरकार समेतलाई ज्ञापनपत्र बुझाएको स्मरण गराउदै संघर्ष समितिद्धारा जारी विज्ञप्तिमा तिनाउ दानव करिडोर योजना सुरुहुन पुर्ब सडक डिभिजन कार्यालयले नगरपालिकालाई सोधेको प्रश्नमा नगरपालिकाले करिडोर क्षेत्रमा मुवाब्जा समन्धी कुनै पनि बिबाद नरहेको भनि झुठो बिबरण पेश गरेको दाबी गरिएको छ ।







