काठमाण्डौ,१५ पुस ।
नेपालमा बिहीबार थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर आठ हजार ८९७ जनाको नमुना परीक्षण गर्दा २४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २२८ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म आठ लाख ११ हजार ७४६ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले चार हजार आठ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५६ हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड तीन लाख ६ सय जनाले पूर्ण मात्रा खोप लगाएका छन् । एक करोड ३९ लाख ७१ हजार जनाले कम्तीमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।