काठमाण्डौ,१४ पुस ।
गय रातीदेखि परेको बर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ भने तराईका विभिन्न जिल्लाहरूमा पनि भारी वर्षा भएको छ ।
आज देशका पश्चिमी भागमा बढी वर्षा भएको जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
गोरखा, कास्की, लमजुङ, लगायतका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको र तराईका केही भूभागहरूमा सामान्य वर्षा भइरहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन् ।

उनका अनुसार अनुसार गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिटर पानी परेको छ । कास्की आसपासमा १४ मिलिमिटर वर्षा भएको छ । यस्तै लमजुङमा ३९ दशमलव ८ मिलिमिटर पानी परेको छ भने चितवनमा ४० मिलिमिटर वर्षा भएको छ । मनाङमा २७ दशमलव ५ मिलिमिटर र काठमाडौँमा १० दशमलव ७ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिमका जिल्लाहरूमा १० मिलिमिटर हाराहारी वर्षा भएको शाक्यले बताइन् । पूर्वदेखि पश्चिमसम्म पहाडी र उच्च पहाडी क्षेत्रहरूमा वर्षा र हिमपात भइरहेको हो ।

अरब सागरबाट आएको पश्चिमी जलवाष्पयुक्त वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमविद् शाक्यले बताइन् ।
मौसम पूर्वानुमान शाखाका अनुसार आज रातिपनि देशभर आंशिक देखी सामान्य बदली रहने,प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
अविरल वर्षा र हिमपातका कारण तापक्रम दर पनि घटेको छ । काठमाडौँको तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस रहेको छ भने धनगढीमा १२ दशमलव ५ डिग्री सेल्सियस, नेपालगञ्जमा १२ दशमलव ६ डिग्री सेल्सियस, भैरहवामा १३ दशमलव ३ डिग्री सेल्सियस, सिमरामा १४ डिग्री सेल्सियस, जनकपुरमा १५ दशमलव २ डिग्री सेल्सियस र विराटनगरमा १३ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।

मौसमविद् शाक्यका अनुसार भोलि बिहीबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहे पनि देशका अन्य भूभागमा आंशिक बदली रहने, केही स्थानहरूमा हल्का वर्षा हुने पूर्वानुमान रहेको र मौसममा क्रमिक सुधार आउने शाक्यले बताइन् ।
हिउँदमा भएको वर्षाबाट खास गरी गहुँ, जौ लगायत तरकारी खेती गरेका कृषकहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
यसैबीच हिजो मंगलबार रातिदेखि भएको वर्षा र हिमपातका कारण काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने ३५ वटा उडान रद्द भएका छन् । आजका लागि ६५ वटा उडान तोकिएकोमा ३५ वटा उडान रद्द भएकाे विमानस्थलका सन्दीप न्यौपानेले जानकारी दिए ।

अन्तराष्ट्रियतर्फका उडान भने नियमित भएकाे जनाइएको छ ।