काठमाडौं,१३ पुस ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका हुन् ।
बंगलादेशमा मंगलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई हराएर उपाधि रक्षा गरेको हो ।
रोमाञ्चक फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको थियो । नेपालले कूल ६ खेल खेल्दा अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो ।
यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले पनि च्याम्पियन टोलीलाई बधाई दिएका छन् । नेपालको पुरुष टोली भने तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकिस्तानसँग सोझो सेटमा हार्दै चौथो भएको छ ।






