काठमाण्डौ,१३ पुस ।
नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले महाधिवेशनमा पूरक प्रस्ताव पेस गरेका छन् । अध्यक्ष प्रचण्डले पेस गरेको दस्तावेजमा केही कुरा अस्पष्ट भएको र समावेश नै नभएको भन्दै कार्कीले पूरक प्रस्ताव पेस गरेका हुन् ।

पुँजीवादी विकासको चरणमा पुगेपछि युद्ध अपरिहार्य बन्न जाने र यसबाट बच्ने चिनियाँ प्रयास प्रशंसनीय भएको उल्लेख गर्दै प्रस्तावमा नेपाल पनि यही मोडलमा जानुपर्नेमा जोड दिइएको छ ।

उदाउँदो चीनलाई घेर्ने संयुक्त राज्य अमेरिकाको रणनीति अन्तर्गत उसले भारतसँग सबै प्रकारको गठबन्धन गरिरहेको भन्दै कार्कीले शीत युद्धको संघारमा नेपालले बुद्धिमतापूर्वक दीर्घकालीन नीतिहरू अख्तियार गर्न नसकेमा भविष्य भयावह हुने निश्चित रहेको पनि उल्लेख गरेका छन् ।

नेपालको मुख्य लडाइँ पुँजीवादसँगको भएको र यसमाथिको विजयबाट समाजवाद नै प्राप्त हुने कार्कीको भनाई छ ।

यस्तै पार्टीका सम्मेलन, बैठक, अधिवेशन र महाधिवेशनहरू नीति प्रधान कार्यक्रम बनाउनुपर्ने र माक्र्सवाद, लेनिनवाद, माओवादकै पनि थप अध्ययन, छलफल र व्याख्या गर्नुपर्ने कार्कीले बताएका छन् ।

कम्युनिस्ट पार्टी प्रभावी नभएको देशका विश्वविद्यालयहरूमा कम्युनिस्ट सिद्धान्त, विचारधारा, राजनीतिक दर्शन आदिको विषयमा छलफलहरू हुने गरेको तर नेपालमा छलफल हुन छाडेकोमा कार्कीकोे चिन्ता छ ।

जनयुद्धले गर्दा स्थापित भएका मूल्य, सदाचार, सामूहिकता आदिमध्ये कतिपय मानवीय सम्पदाहरूको क्षय हुँदै गएको भन्दै कार्कीले मुद्दाहरूको संरक्षण र संवर्द्धन गर्नु माओवादीको कर्तव्य भएको बताएका छन् ।