काठमाडौं,१३ पुस ।
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

काठमाडौंको आकाशमा बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम भएका कारण विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको हो ।

मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए ।

आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको उनले बताए ।

बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो । मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुननसकेको जनाइएको छ । बाक्लो कुहिरो र हुस्सुका कारण आईएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए ।

उडान डिले भए पनि गन्तव्यमा यात्रु पु¥याउन एयरलाइन्सले हरसम्भव प्रयास गरेको उनले बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भेगमा बाक्लो तुवालो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु÷कुहिरो लागेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहेको छ ।