काठमाण्डाै,१३ पुस । पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरकाे माैसम बदली भएको छ । माैसम बदलीसँगै पश्चिमी क्षेत्रमा पानी पर्न थालेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।

देशको पश्चिमी भुभागका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम पनि बद्ली भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए । आज र भोलि दुई दिन देशभर मौसम बद्ली हुने उनलेे बताए ।

धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको र हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज र भोलि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् पौडेलले बताए । पर्सि बिहीवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा पर्सि बिहानदेखि नै मौसम खुल्ने र अरु ठाउँमा बिस्तारै क्रमिक रुपमा खुल्दै जाने मौसमविद्काे अनुमान छ ।

बादल लागेसँगै देशभर चिसो बढेको छ । यो वर्षापछि चिसो झन् बढ्ने छ । हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जाँदा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।