बुटवल, १२ पुस ।
बुटवलको देवीनगरमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा दर्शकको उपस्थिति बढ्दै गएको छ ।

‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ उद्योग ब्यापार संघ बुटवलले आयोजना गरेको मेलाको पांचौ दिन सोमबार मात्रै २५ हजार दर्शकले मेला अवलोकन गरेका छन् ।

स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका मेलाका स्टलबाट पांचौ दिनसम्म करिब ७ करोड रुपयांको आर्थिक कारोबार भएको सआयोजक संघका अध्यक्ष गोबिन्दराज गैरेले जानकारी दिए ।

मेलामा सांस्कृतिक कार्यक्रम र बाल उद्यानमा रमाउन तथा किनमेलका लागि रुपन्देही जिल्ला र छिमेकी जिल्लाबाट समेत दर्शकहरु आएका मेला सचिवालय संयोजक एवं संघका महासचिव पदम जीसीले बताए ।

मेला सचिवालय नजिकै राखिएको शिव मुर्तिमा पुजारीले संखघण्ट बजाएर नाचगान गर्दै दर्शकलाई बेग्लै मनोरन्जन दिएका छन् भने मेलास्थलमा विभिन्न जाति, धर्म, संस्कृति र परम्परा झल्कने १५ थरिका सेल्फी स्पटमा दर्शकको आकर्षण रहेको छ ।

सोमबार मेलामा रमेशराज भट्टराई, अर्जुन कौशल,पुर्खे बा,बसन्त लम्साल लगायतका कलाकारले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरन्जन दिलाए । मंगलबार चर्चित लोकदोहोरी गायक रामजी खांण,चन्द्र शर्मा, दीपक दर्लामीमगर,भावना आचार्य लगायतका कलाकारको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले जानकारी दिए ।

मेलामा झनपछि झन दर्शकहरुको सहभागिता हुन थालेपछि आयोजक उत्साहीत भएका छन् ।
पुस २० गतेसम्म मेला चल्ने छ ।