बुटवल,१२ पुस ।
नेपालका प्लाष्टिकजन्य उद्योगहरु सिमा क्षेत्रबाट हुने कच्चा पदार्थको अबैध निकासीले समस्या झेल्नु परेको उद्योगीहरुले बताएका छन् ।
स्थानीय कच्चा पदार्थमा आधारित उद्योगीहरुले आफ्नै रिसाइक्लिन बस्तुहरुको मुल्य बढी तिर्नु परेको बताउँदै त्यसको समाधानका लागि नीतिगत रुपमै सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।
रुपन्देही उद्योग संघमा आवद्ध प्लाष्टिक उद्योगीहरुको सोमवार सम्पन्न भेलामा बोल्ने उद्योगीहरुले सो धारणा राखेका हुन । उनीहरुले उद्योगीहरुको समस्याको पहिचान गरी समाधान गर्नका लागि पहल गर्न पनि आग्रह गरेका थिए ।
भेलामा संघका अध्यक्ष माधव प्रसाद पौडेलले प्रकृतिगत रुपमा उद्योगीहरुका आफ्नै प्रकारका समस्या हुने हुँदा त्यसलाई बस्तुगत समितिहरुले पहिचान गरेर संघलाई समस्या समाधानका लागि पहल गर्ने थलोका रुपमा सहयोगी बन्न आग्रह गरे ।
भेलामा संघका पूर्व अध्यक्ष एजाज आलमले उद्योगीहरुले आफ्ना समस्याका बारेमा आफै चिन्तित भएर पहल नगर्दासम्म सुुनुवाई हुन नसक्ने बताउँदै प्लाष्टिक उद्योगहरुलाई बचाएर लैजान राज्यले नीतिगत रुपमै सुधार गर्नु पर्ने धारणा राखे ।
संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले व्यवसायिक समस्याहरुको पहिचानका लागि सदस्य उद्योगीहरुले नै आवाज नउठाउँदासम्म राज्यले सुनुवाई नगर्ने र आफै सक्रिय भएर लाग्नु जरुरी रहेको बताए ।
वस्तुगत समिति गठन कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता, सचिव बसन्त ढकालको सञ्चालनमा सम्पन्न उद्योगीहरुको भेलाले एग्रो एफ.आर.पी.इण्डष्ट्रिज प्रा.लि.का शरद रेग्मीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको सहसंयोजकमा त्रिनेत्र प्लाष्टिक उद्योगका तेजनाथ तिमिल्सीना, सचिवमा नेशनल पि.भि.सी. बोर्ड इण्डष्ट्रिजका शोभाखर भुसाल र सदस्यहरुमा रेश्मी पोलिथिन इण्डष्ट्रिज (प्रा.) लि.का याङ्गसिङ रेश्मी र महेश प्लाष्टिक उद्योगका दण्ड प्रसाद गैरे चयन भएका छन् ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, द्वितिय उपाध्य्रक्ष जिवकान्त काफ्ले, नवनिर्वाचित संयोजक शरद रेग्मी लगायतले उद्योगीहरुका समस्या समाधान गर्न सबै व्यवसायीहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
समितिको सल्लाहकारहरुमा संघका अध्यक्ष माधब प्रसाद पौडेल, वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, कोषाध्क्षय हिरामणी भट्टराई र सचिव बसन्त ढकाल लाई चयन गरेको संघले जनाएको छ ।






