काठमाडौं,१२ पुस ।
अश्लीलता झल्कने शीर्षक राखेर भिडियो बनाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–१ खापापानी स्थायी घर भई काठमाडौं महानगरपालिका–३१ अनामनगर बस्दै आएका रामबहादुर मल्ल रहेका छन् ।

आइतबार अनामनगरबाट पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर मल्लले समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको प्रहरीको आरोप छ ।

विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसूरमा मल्ललाई पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।