काठमाण्डौ,१२ पुस ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
काठमाण्डौमा सोमवार भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताएका हुन् ।
कोरोनाका कारण आमा–बुबा गुमाएका बालबालिकाको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान सुरु गरेको उनले बताए ।
महामन्त्री थापाले बालबालिकामा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउन र समस्यामा परेका बालबालिकालाई उचित शिक्षा दिन अभियानले काम गर्ने उल्लेख गरे ।
परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरू पनि थुप्रै समस्या हुने भन्दै महामन्त्री थापाले जसलाई परेको छ, त्यसलाई मात्रै थाहा हुने बिचार ब्यक्त गरे ।
कोरोनाका कारण आमाबुबा गुमाएका वा अभिभावकविहीन बालबालिकाको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट यो अभियान सुरु गरिएको भन्दै उनले बा–आमासँग मात्रै होइन,समाजप्रति पनि भरोसा जगाउन अभियान सुरु गरिएको जानकारी गराए ।
पारदर्शी तरिकाबाट साथीहरूले चलाउनु हुनेछ । नेपालीहरूले आफैँ मिलेर पनि यस्तो अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउन पनि अभियान चलाइएको बताए ।
भरोसा छात्रवृत्ति अभियान सात वटै प्रदेशका दुई÷दुई वटा जिल्लामा सुरु हुने बताउदै महामन्त्री थापाले ती जिल्लामा कोरोनाका कारण आमाबुबा गुमाएका विद्यार्थीको शिक्षाका लागि सहयोग गर्ने र आवश्यकताका आधारमा डिश होमको नेटवर्कबाट छात्रवृत्ति रकम उपलब्ध गराइने जानकारी गराए ।







