बुटवल,१२ पुस ।
राष्ट्रिय योजना आयोगको आयोजनामा बुटवलमा मध्यमकालीन खर्च संरचना,आयोजना बैंक र समपुरक तथा विशेष अनुदानको सफ्टवेयर सञ्चालन एवं दिगो विकास लक्ष्यको स्थानीयकरण सम्बन्धी प्रदेश स्तरीय क्षमता विकास कार्यक्रम सुरु भएको छ ।

हचुवाको भरमा योजना बजेट बिनियोजन गर्ने परिपाटी अन्त्य गरी आवस्यकता र औचित्यका आधारमा योजनाको पहिचान,मुल्याङ्कन,छनौट प्राथमिकरण र बजेट ब्यवस्थापन गर्ने प्रणालीको विकास गर्ने उदेश्यले योजना आयोगले लुम्बिनी प्रदेशका मन्त्रालय,प्रदेश योजना आयोगका पदाधिकारी तथा स्थानीय तहमा कार्यरत योजना प्रमुख,लेखा अधिकृत र सूचना प्रबिधि शाखाका कर्मचारीहरुलाई त्यस बिषयमा तालिम दिइएको हो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सह सचिब तथा कार्यक्रम निर्देशक राजेन्द्र कमार पौडेल,योजना आयोगका निर्देशकहरु डा.चक्रपाणी आचार्य,प्रदीप शर्मा,तिर्थराज चापागाई लगायतले प्रदेशका मन्त्रालयहरु र स्थानीय तहहरुको मध्यमकालीन खर्च संरचना,आयोजना बैंक र समपुरक तथा विशेष अनुदानको सफ्टवेयर सञ्चालन एवं दिगो विकास लक्ष्यको स्थानीयकरण कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
तीनै तहका सरकारहरुद्धारा सञ्चालीत योजनाहरुलाई एउटै प्रणालीमा जोडेर अनुगमन र मुल्याङ्कन गर्न सकिने गरी राष्ट्रिय योजना आयोग र प्रदेश योजना आयोगहरुले विकास गरेको सफ्टवेयर कसरी सञ्चालन गर्ने भन्ने बिषयमा योजना आयोगका अधिकारीहरुले प्रयोगात्मक रुपमा तालिम प्रदान गरेका हुन् ।
राष्ट्रिय योजना आयोगका निर्देशक डा.चक्रपाणी आचार्यले संघीय योजना प्रणाली कार्यान्वयनमा आएपछि तीनै तहका योजनाहरुमा दोहोरोपना हट्ने,बजेट दुरुपयोगमा कमि आउनुका साथै प्राथमिकता प्राप्त योजनाहहरुका लागि बजेट अभाव नहुने विश्वास ब्यक्त गरे ।






