गठबन्धन कसैको विरुद्धमा नभएर संविधान र संसद् जोगाउन बनेको हो : देउवा
काठमाडौं,११ पुस ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको पाँच दलीय गठबन्धन कसैको विरुद्धमा उभिनका लागि नबनेको बताए ।
माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले उक्त कुरा बताएका हुन् ।
‘गठबन्धन कसैको विरोधमा होइन तर अहिलेको संविधानले संसद् पूरा अवधि चलोस् भन्ने व्यवस्था गरेकाले संविधानको रक्षाका लागि गठबन्धन बनेको हो । संविधान र संसद् बचाउनका लागि बनेको हो’, देउवाले भने ।
गठबन्धन पूरा समय चल्नेमा कसैले पनि शंका नगर्न आग्रह गदै उनले गठबन्धनलाई अझै अघिसम्म लैजान चाहेको बताए ।
माओवादी कहाँ बिग्रियो, गम्भीर समीक्षा हुन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले माओवादीको महाधिवेशन कुनै एउटा दलको मात्रै चासोको विषय नभइ समग्र देशकै चासोको विषय भएको बताएका छन् ।
पार्टीको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै नेताले देश र नागरिकको जीवनलाई कसरी सकारात्मक परिवर्तन गर्ने भन्ने विषयमा बोलेकाले खुसी लागेको बताए ।
शान्ति प्रक्रियामा आएपछि माओवादी कहाँ चुक्यो भन्ने विषयमा विस्तृत आत्मसमीक्षा गर्ने प्रचण्डको भनाइ छ । आफ्नो राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै आफ्नोबारेमा नै धेरै समीक्षा गर्ने भन्दै प्रचण्डले आफैँलाई चिरफार गर्ने, माओवादीलाई फेरि उठाउने र समाजवादी अभियानलाई अघि बढाएर नागरिक र देशको वृहत्तर हितका लागि अघि बढ्ने दृढता ब्यक्त गरे ।
तत्कालीन एमाले र माओवादीको एकता गर्नु कुनै गल्ती नभएको भन्दै प्रचण्डले नेकपा किन विघटन भयो भन्नेबारेमा गम्भीर समीक्षा गर्नुपर्ने पनि बताए ।
भ्रष्टाचार निमिट्यान्न नपारेसम्म दलहरूले जनताको मन जित्न सक्दैनन् : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारलाई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरूले नागरिकको मन जित्न नसक्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचार निमिट्यान्न पार्नुपर्ने भन्दै परिवर्तन नेपाली नागरिकको हितका लागि हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसङ्गति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताए । राजनीतिक दलहरू शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, नागरिकको पीडा र वेदनालाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुन सके मात्र आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट भन्न सकिने उनको भनाई थियो । नागरिकको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै अध्यक्ष नेपालले काम र व्यवहारलाई नागरिकले अनुभूति गर्ने गरी राजनीतिक दलहरू लाग्नुपर्नेमा जोड दिए ।
माओवादी र एमालेबीचको एकता गलत थिएन : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताएका छन् ।
माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो वामपन्थी दल बनाउनका लागि दुई पार्टी मिलेर नेकपा बनाएको तर विविध कारणले एकता भङ्ग हुनु दुःखद भएको बताए । अहिले पनि देशमा वामपन्थी एकताको खाँचो रहेको पोखरेलको भनाइ छ ।
उनले पछिल्ला तीन–तीन वटा राजनीतिक क्रान्ति गर्दा देशमा समृद्धि किन आएन भनेर समीक्षा गर्नुपर्ने बेला आएको पनि बताए । पार्टीहरू अहिलेसम्म नागरिक अधिकारका प्रश्नमा केन्द्रित रहेको तर देश बनाउने र नागरिकको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिइएको भन्दै महासचिव पोखरेलले दलहरूका महाधिवेशनमा नागरिकका मुद्दामा छलफल हुनुपर्नेमा जोड दिए ।
अहिले देश हिँड्नुपर्ने बाटो एउटा भए पनि राजनीति अर्कै बाटोमा हिँडेको भन्दै महासचिव पोखरेलले सबै दल र नेताले एक पटक गम्भीर भएर सोच्नुपर्ने बताए ।
माओवादी र मधेश विद्रोह नभएको भए देशमा अझै निरंकुशता बाँकी रहन्थ्यो : यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादीको जनयुद्ध र मधेश आन्दोलन नभएको भए अझै पनि निरंकुशता जारी नै रहने बताए ।
माओवादी केन्द्रको महाधिवेशनमा र शुभकामना दिने क्रममा अध्यक्ष यादवले भने, ‘माओवादी र मधेश विद्रोह नभएको भए देशमा लोकतन्त्र आउने थिएन, निरंकुशता हुने थियो । माओवादी र मधेश विद्रोहले देशलाई अघि बढाएको हो ।’
प्राप्त उपलब्धिलाई पनि केही प्रतिगामी तत्वहरुले खतरामा पारिरहेको भन्दै अध्यक्ष यादवले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।
संविधानले मधेशका नागरिकको हक अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै यादवले संविधान संशोधन गरेर सबैका अधिकारलाई संविधानमा समेट्नुपर्ने बताए ।
अध्यक्ष यादवले अझै पनि देशमा मधेशका मुद्दा सम्बोधन हुन नसकेको, उत्पीडित र शोषित वर्गको अधिकार र पहिचानलाई राज्यले महत्त्व नदिएको लगायतका गुनासो गरे ।
पूर्वमाओवादीहरुको एकता वार्ताका लागि सीपी गजुरेलको तीन शर्त
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने प्रस्तावलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । तर त्यसका लागि आधार तयार पार्नुपर्ने भन्दै उनले तीन बुँदे शर्त अघि सारेका छन् ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गजुरेलले आफूहरु पनि कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । त्यसका लागि माओवादी केन्द्रले आधार तयार पार्नुपर्ने भन्दै उनले तीन बुँदा अघि सारे ।
पहिलो : जनयुद्ध सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकमा हामीले जे प्रतिवद्धता जाहेर गरेको थियौं, त्यसलाई पुनस्र्थापित गर्नुपर्छ ।
दोस्रो : हामीले जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अहिले पनि अधुरो र अपुरो छ । ‘नेपाललाई जनगणतन्त्र बनाउन अगाडि बढौं, त्यो कार्यक्रम पारित गरौं, म अनुरोध गर्न चाहन्छु,’ गजुरेलले भने ।
तेस्रो : राष्टिय स्वाधीनताका विषयमा केही महत्वपूर्ण निर्णय लिनुस् । ‘अहिले चलिराखेको विवाद जुन छ, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न तपाईंहरुले जोड लगाउनु होला,’ उनले भने, ‘हामीले गुमाएका भूभागहरु नक्सामा त हासिल ग¥यौं । वास्तविक रुपमा हासिल गर्न सकेको छैनौं । कालापानी लिनुलेक, लिम्पियाधुरा हासिल गर्न प्रतिवद्धता होस् ।’
क्रान्तिकारी माओवादीका नेता गजुरेलले अघि भने, ‘यी सबै भयो भने पार्टी एकताका लागि बहस गर्ने, छलफल गर्ने ढोका खुल्छ । यो महाधिवेशनले त्यो ढोका खोलोस् ।’
शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना दिनको सम्झना आएको र माओवादी तथा अध्यक्ष प्रचण्डसँगका विगतमा सँगै रहेको याद आएको बाएका थिए । ‘आज मलाई कुनै समयमा हामी नेकपा माओवादी हुँदा वर्षाैँसम्म सँगै बसेको अनुभूति भएको छ । यहाँ सहभागी हुँदा पुराना दिन सम्झाना भयो’, गजुरेलले भने ।
माओवादीले गरिब, दुःखीका एजेन्डा नछाडोस् : अनिलकुमार झा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले माओवादीको १० वर्षे जनयुद्धले धेरै विषयमा परिवर्तन ल्याए पनि अझै गर्नुपर्ने धेरै कुरा बाँकी रहेको बताए ।
माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिँदै नेता झाले माओवादीको जनयुद्धलाई आफूहरूले कहिल्यै पनि अपमान नगरेको तर अहिले माओवादीले मूल एजेन्डा बिर्सँदै गएको बताए ।
शोषित, पीडित नागरिकका लागि आन्दोलन गरेको माओवादीले अहिले एजेन्डा छाड्दै गएकोमा दुःख लागेको झाको भनाई थियो । झाले माओवादीले गरिब, दुःखीका एजेन्डा नछाडोस् भने शुभकामना पनि दिए ।
नयाँ रूपमा देखिएको प्रतिगमन परास्त गर्न माओवादीको ठूलो भूमिका रहन्छ : दुर्गा पौडेल
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले माओवादीको महाधिवेशनले देशकै भविष्यमा ठूलो भूमिका खेल्ने बताएकी छन् ।
माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिँदै उपाध्यक्ष पौडेलले माओवादीले लिने निर्णयले पार्टीको मात्रै नभइ देशकै राजनीतिमा महत्व राख्ने बताइन् । नागरिकको लामो संघर्ष र बलिदानबाट आएको गणतन्त्र, धर्मनिरपेक्षता लगायतका उपलब्धि खतरामा परेको अवस्थामा माओवादीले महत्वपूर्ण निर्णय लिनुर्पेमा पौडेलले जोड दिइन् ।
अहिले प्रतिगमन फरक रूपमा आएर लोकतन्त्रमा आक्रमण भइरहेको र त्यसलाई असफल पार्न माओवादीसहित पाँच दलीय गठबन्धन बनाइएको र त्यसलाई बलियो बनाउनुपर्ने पौडेलले बताइन् । नयाँ रूपमा देखिएको प्रतिगमन परास्त गर्न माओवादीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको भनाइ छ ।
उपाध्यक्ष पौडेलले माओवादी केन्द्रले गठबन्धन कायम राख्ने सम्बन्धमा पनि महाधिवेशनबाट निर्णय लिनुपर्ने बताइन् । उनले महाधिवेशनले एमसीसीलाई खारेज गर्न निर्णय लिने विश्वास व्यक्त गरिन् ।
उदघाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।




