काठमाडौँ,१० पुस ।
नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ ।

शनिबार बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो ।

यद्यपि उक्त निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको निर्णयले वैधानिकता पाउनेछ ।

नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन आइतबारबाट काठमाडौँमा सुरु हुँदै छ ।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रूपमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरे सम्मेलन महाधिवेशनमा परिणत हुने स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए ।

स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न आइतबार बिहान ८ बजे केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ ।

स्थायी कमिटी बैठकपछि शनिबार साँझ पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई सोझै महाधिवेशनमा लैजाने निर्णय गरिएको बताएका थिए ।