बुटवल,१० पुस ।
बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला अवलोकन गर्ने दर्शकको चाप बढेको छ ।

मेला सञ्चालन भएको तेस्रो शनिबार सार्वजनिक विदा र क्रिसमस डे समेत परेकाले ५० हजार बढी दर्शकको उत्साहजनक उपस्थिति भएको आयोजकले जनाएका छन् ।

मेला आयोजक उद्योग ब्यापार संघ बुटवलका महासचिव पदम जीसीले शनिबार मात्रै ५० हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेका बताए । मेलामा दर्शकको चाप बढेपछि टिकट व्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको थियो ।

आगामी दिनमा सार्वजनिक विदाका दिनमा टिकट काउन्टर बढाउने र ठाउं ठाउंमा टिकट विक्रिको व्यवस्था गरेर भीड कम गरिने संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए । दर्शकको उत्साहजनक उपस्थितिले आयोजक उत्साहित भएका छन् ।

शनिबार मेलाका दर्शकलाई चर्चित लोक दोहोरी कलाकार खुमन अधिकारी, सम्झना भण्डारी, मोडल अभिषेक खड्का लगायतका कलाकारले भरपूर मनोरन्जन प्रदान गरेका थिए । यस्तै डान्स आइडलका प्रतियोगीको नृत्यमा पनि दर्शक रमाएका सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।

मेलामा बाल उद्यानमा रमाउने र अवलोकनकर्ताको चाप बढेकाले स्टलहरुमा ब्यापार पनि राम्रो भई करिब ५ करोडको कारोबार भएको स्टल व्यवस्थापन उपसमिति संयोजक एवं संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले बताए ।

आइतबार चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, गायिका समीक्षा अधिकारी, लक्ष्मी बस्नेत, दीपक खड्का लगायतका राष्ट्रिय र स्थानीय गरी एक दर्जन कलाकारको सांगितिक प्रस्तुति रहने प्रचार प्रसार संयोजक जनेश पन्थीले बताए ।

स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् ।