बुटवल,१० पुस । गृहमन्त्री बालकृष्ण खाँणले प्रदेशको राजधानी नभए पनि बुटवलकाे विकास नराेकिने बताएका छन् ।
आफ्नै ढङ्गले बुटवलको बिकास हुदै आएको बताउदै उनलेे राजधानी नभए पनि बुटवलको विकासमा असर नपर्ने बिचार ब्यक्त गरे ।
भाैगाेलिक अवस्था,आफ्नै ईतिहास र बलबुताले बुटवल अहिलेको अवस्थामा आएको उल्लेख गर्दै खाणले राजधानी नरहे पनि बुटवलकाे विकास आफ्नै ढंगले अगाडि बढ्ने बताए ।

सनिवार बुटवल स्थित गाैतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै गृहमन्त्री खाँणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताए ।
रुपन्देहीको बिकासका लागि आफ्नो तर्फबाट धेरै प्रयासहरु भईरहे पनि त्यसको जस आफुले मात्रै लिन नचाहेको धारणा राखे । बिकासका लागि नै जनप्रतिनिधि निर्वाचित भएको भन्दै उनलेे जे कामका लागि जनताले पठाएका हुन् त्यही काम गर्दा जस लिन आवश्यक नभएको बिचार ब्यक्त गरे ।

विज्ञान र प्रविधिको बिकासले स्वास्थ्य क्षेत्रमा चामत्कारिक उपलब्धि हासिल गरे पनि गरिबीको संख्या भने नघटेको उनको भनाइ थियोे ।
सरकारी अस्पतालकाे अवस्था कमजोर हुँदा जनताले निजि अस्पतालमा महङ्गो शुल्क तिरेर उपचार लिन बाध्य भएको भन्दै
गृहमन्त्री खाणले त्यसैले सरकारले सरकारी तथा सामुदायिक अस्पतालहरुको प्रवर्द्धन गर्न अग्रसर रहेको बताए ।

गौतमबुद्ध सामुदायिक अस्पतालको लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दु:खद रहेको उल्लेख गर्दै उनलेे आफूले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिवद्वता जनाए ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुईबर्ष भित्र ८ सय बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्न आफुहरु तयार रहेकोले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्री सामु आग्रह गरे।

रुपन्देही उद्योग संघको संरक्षकत्वमा २०७० साल पौष १० गतेबाट सेवा संचालन गरेको अस्पतालले एकबर्षको अवधिमा ओपिडी, ईमर्जेन्सी र भर्ना गरि ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ।

अध्यक्ष आलमले पैसाको अभावमा अस्पताल आएका बिरामीहरु उपचार सेवा लिन बाट बन्चित हुने अवस्था आउन नदिने दावी गरे। आलमले एकबर्षको अवधिमा अस्पतालको तर्फबाट साढे ६७ लाख रुपैयाँ र विभिन्न दाताहरुको सहयोगमा १० लाख भन्दा बढी रुपैयाँ छुट उपलब्ध गराएको जानकारी दिए।

अस्पतालमा बुटवलबाट २४५, दाङको लमहीबाट ६८ र पाल्पाबाट ३१ गरि ३४४ जना मिर्गौलाका बिरामीले नियमित डायलाइसिस सेवा लिदै आएको अस्पतालले जनाएको छ। त्यसैगरी एकबर्षको अवधीमा एन्जियोप्लास्टी १११ जना, एन्जियोग्राफी ३१३ र ९१ जनाले पेसमेकर सेवा लिएको अस्पतालका निर्देशक डा. समीर गौतमले जानकारी दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यहरु भोज प्रसाद श्रेष्ठ र बिष्णु पन्थीले कतिपय सरकारी नियम र कार्यविधिहरु नै बिकासका बाधक बन्ने गरेकोले सरकारले त्यस्ता नितिनियम र कार्यबिधी परिमार्जन गर्न आवश्यक रहेको बताए।

संस्थाका सचीव दिनेशराज रेग्मिको संचालनमा सम्पन्न भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवि चौधरी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, रोटरी इन्टरनेसनल डिष्ट्रीक ३२९२ नेपाल भुटानका गभर्नर नोमिनी राजेन्द्र ध्वजु, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी लगायतले शुभकामना मन्तव्य दिएका थिए।