बुटवल,७ पुस ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म २२.२० प्रतिशत रकम खर्च गर्न सफल भएको छ ।
बुटवल उपमहानगरपालिकाद्धारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाले सो कुराको जानकारी दिएको हो ।
उपमहानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद खनालले आर्थिक वर्षको मंसिर मसान्तसम्म २१ दशमलव १९ प्रतिशत पूँजीगत खर्च भएको जानकारी दिए ।
खनालका अनुसार उपमहानगरमा २३ दशमलव ६२ प्रतिशत चालू खर्च भएको छ भने १८ दशमलव ७५ प्रतिशत गरी कूल २२.२० प्रतिशत खर्च वित्तीय खर्च भएको छ ।
महत्वपूर्ण मानिएको पूर्वाधार विकासतर्फ यातायात पूर्वाधार, भवन, आवास तथा सहरी विकास, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि र सम्पदा पूर्वाधार शीर्षकमा २५ दशमलव २९ प्रतिशत खर्च भएको छ । पूर्वाधार विकासका लागि कूल १ अर्ब, १९ करोड २६ लाख १३ हजार ७० रुपैयाँ विनियोजन भएकोमा हालसम्म ३० करोड, १५ लाख ६० हजार २५ रुपैयाँ खर्च भएको छ । ८९ करोड बढी खर्च हुन बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ ।
यसैगरी सामाजिक विकासतर्फको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, भाषा तथा संस्कृति, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकूद र सामाजिक सुरक्षा तथा संरक्षण शीर्षकमा १९ दशमलव २९ प्रतिशत खर्च भएको छ । सामाजिक विकासतर्फ चालू आर्थिक वर्षमा कूल ६५ करोड ७५ लाख ७६ हजार २ सय विनियोजन भएकोमा हालसम्म १२ करोड ६८ लाख १५ हजार ७४९ रुपैयाँ मात्रै खर्च भएको छ ।
बित्त प्रमुख खनालका अनुसार बुटवलका गौरवका योजना पूरा हुने चरणमा रहेका छन् । बुटवल उपमहागरमा भएका आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार बिकासका अधिकांस योजनाहरुको बोलपत्र आह्वान मार्फत योजनाहरुको सम्झौता भई कार्यान्वयनको अवस्थामा पुगेको खनालले जानकारी दिए ।
यसैगरी उपभोक्ता समितिहरु मार्फत हुने ७० प्रतिशत योजना सम्झौता भइसकेका छन् भने सम्झौता भएका योजनाहरु मध्ये ५५ प्रतिशत बढी कार्यान्वयनको तहमा पुगिसकेको उनले बताए ।
यसैबीच बुटवल उपमहानगरपालिकामा १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएको उपमहानगरपालिकाले दाबी गरेको छ ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले उपमहानगरभित्र बसोबास गर्ने १८ वर्षभन्दा माथिका सबै नागरिकहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको जानकारी दिए । अझै केही खोप बचेको जानकारी गराउदै उनले १८ वर्षभन्दा माथिका कोही नागरिक खोप लगाउन छुटेको भए सम्बन्धित वडामा सम्पर्क गर्न आग्रह गरे ।
आगामी पुस १५ गतेदेखि ११ देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई खोप लगाउने तयारी गरिएको पनि उनले जाकारी दिए ।
खनालका अनुसार एकसय भन्दा बढी संख्यामा विद्यार्थी भएका विद्यालयमा उपमहानगरपालिकाले सोही विद्यालयमै पुगेर खोप सेवा प्रदान गर्ने तयारी गरेको छ भने सोभन्दा कम संख्या भएका विद्यालयहरुका लागि दुई वा सोभन्दा बढी विद्यालयलाई जोडेर खोप केन्द्र स्थापना गर्ने उपमहानगरको तयारी छ ।
कार्यक्रममा उपमहानगरका प्रवक्ता राम प्रसाद रेग्मीले सबै वडाहरुमा मतदाना नामावली संकलनका लागि आवश्यक सूचना गराइएको बताउदै बुटवलका सबै नागरिकले इलाका प्रसान कार्यालयमा गएर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरे ।






