बुटवल,६ पुस ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता एमसीसीको बिरोधमा रहेको दाबी गरेका छन् ।
एमसीसी नेपाल र नेपालीको हितमा छैन भन्ने जनताले बुझी सकेको भन्दै अध्यक्ष केसीले बहुसंख्यक नेपाली जनता एमसीसीको बिरोधमा रहेको दाबी गरे ।
एमसीसीका बिरुद्व मंगलबार बुटवलमा आयोजित बिरोध सभामा बोल्दै केसीले राष्ट्राघाती एमसीसी सम्झौता संशोधन नभएर खारेज गर्नुपर्ने बताए ।
अध्यक्ष केसीले एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अंग भएका भन्दै त्यसलाई संसदबाट पास गर्नै नहुने धारणा राखे ।
एमसीसी खारेजीको विकल्प नभएको भन्दै उनले विकासको नाममा नेपाली भूमि प्रयोग गरेर चीनका बिरुद्व गतिविधि चलाउने अमेरिकाको योजना बिफल बनाउनुपर्नेमा जोड दिए ।
महाकाली बेच्दा र टनकपुर, अपरकर्णाली भारतलाई सुम्पिदा पनि सत्तामा बस्ने कतिपय दल र ति दलका नेताहरुले त्यस बारे भ्रम छरेको उल्लेख गर्दै अध्यक्ष केसीले अहिले पनि एमसीसीको पक्षमा जनतालाई भ्रममा पारिएको आरोप लगाए ।
राष्ट्रियताको पक्षमा एमसीसीको बिरुद्वमा संसदमा बोल्दा राष्ट्रिय जनमोर्चालाई एक्लै बनाइएको बताउंदै उनले केपी ओलीले पहिल्यै पास गराउन लागेको एमसीसी अहिले कांगे्रस र एमाले मिलेर संसदबाट पास गराउन सक्ने भएकाले त्यस बिरुद्ध जनतालाई आन्दोलनमा उर्तानु पर्ने बताए ।
आन्दोलनबाट राणा, पञ्चायत र राजा फालिए पनि सत्तामा बसेका केही दल र ति दलका नेताहरुको स्वार्थका कारण देश र जनताले मुक्ति नपाएको बिचार ब्यक्त गरे ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले नेपालको कानुन भन्दा माथि राखेर एमसीसी ल्याउने षडयन्त्र भैरहेको बताउंदै चीनलाई कमजोर बनाउन अमेरिकारले जबरजस्त एमसीसी ल्याउन खोजेको दाबी गरे ।
नेपाल कम्य्ुनिष्ट पार्टीका नेता भेषराज भुसालले नेपाली जनतालाई एमसीसी मान्य नभएको बताउंदै आन्दोलनको दबावबाट खारेज गरिने बताए ।
संसदीय व्यवस्था असफल भैसकेको दावी गर्दै उनले अमेरिकाको साम्राज्यवादी नीतिका बिरुद्ध क्रान्तिकारी शक्ति एकजुट भएर एमसीसी खारेज गराएरै छाड्ने दावी गरे ।
नेकपा मालेका स्थायी कमिटी सदस्य गोपालमणि गौतमले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेजी गर्नुको विकल्प नभएको बताए । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका नेता शसी विश्वकर्माले जनताको आन्दोलनबाट राष्ट्रिघाती एमसीसी खारेज गर्नुपर्ने र त्यसका लागि आन्दोलनलाई देशव्यापी बनाउनु पर्नेमा जोड दिए ।
नेकपा मसाल, नेकपा माले, विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, लगायतका राजनीतिक दलले बुटवलमा एमसीसी बिरुद्ध प्रदर्शन र सभाको आयोजना गरेका थिए ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल राजु भुजेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
यसअघि बुटवलको अस्पताललाइनबाट सुरु भएको बिरोध प्रदर्शन बुटवल बजार परिक्रमापछि वीपी चोकमा पुगेर सभामा परिणत भएको थियो ।
एमसीसी सम्झौताको बिरुद्ध बुटवलसहित मंगलबार देशभर बिरोध प्रदर्शन गरिएको छ ।






