बुटवल,६ पुस ।
लुम्बिनी प्रदेशका श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्री पूर्मती ढेंगा र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्बद अल हायलबीच कुटनीतिक भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री ढेंगाले निकट भबिस्यमै भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आउन लागेको जानकारी गराउदै भैरहवाबाट अन्तराष्ट्रिय उडान सुरु भएसँगै रुपन्देहीमा कतारी दूताबासको भिषा एक्टेन्शन काउन्टर र दक्ष कामदार उत्पादन गर्न स्किल एकेडेमी सञ्चालनमा ल्याउन सके लुम्बिनी प्रदेशसँगै यस क्षेत्रका बैदेशिक रोजगारमा जानेहरु लाभान्वीत हुने सुझाव दिएको जानकारी दिइन् ।
सो अवसरमा राजदूत युसुफले धेरै नेपालीले आफ्नो देशमा गएर रोजगारी गरिरहेको बताउँदै आगामी दिनमा त्यसलाई थप ब्यवस्थित र सहज बनाउन चाहेको बताएको मन्त्री ढेंगाले बताइन् ।
रोजगारको क्षेत्रमा कतारले नेपालसँग सहकार्य गर्न तयार रहेको बताउदै राजदूत युसुफले लुम्बिनी प्रदेशको आवस्यकताको आधारमा कतार सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएको मन्त्रालयका सचिब दीपक नेपालले जानकारी दिए ।
उनले लुम्बिनी प्रदेश सरकारसँग शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा कतार सरकार सहकार्य गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि कार्य सम्झौता आवश्यक रहेको बताएका थिए ।
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सोमबार अपरान्ह भएको भेटघाटमा भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव लगायत मन्त्रालयका सचिब तथा अधिकारीहरुको सहभागिता रहेको थियो ।
यसअघि सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसी र राजदूत युसुफ बिन मोहम्बद अल हायलबीच कुटनीतिक भेटवार्ता भएको थियो ।






