काठमाण्डाै,६ पुस ।
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो एक बजेका लागि बाेलाइएकाे छ ।
बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । गएको मङ्गलवार बसेको बैठक एमालेको अवरोधका कारण आज बस्ने गरी स्थगित भएको थियो ।
एमालेले आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गर्दै आएको छ । यसअघिको अधिवेशनमा पनि एमालेले अवरोध गरेको थियो । संसद्को अवरोध खुलाउन सत्तागठबन्धनले निरन्तर प्रयास गर्दै आएको छ । तर अहिलेसम्म सहमति जुटेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ति सर्वदलीय बैठकमा संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्ष दल एमालेलाई आह्वान गर्नुभएको थियो । तर बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन।




