काठमाण्डौ,५ पुस ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालद्धारा अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई ’कालो दिन’ को रूपमा स्मरण गर्दै आज राजधानी काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका हुन् ।

देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बीचमा सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने बताउदै उनले सत्ता गठबन्धन भत्काएर नयाँ ढंगको प्रतिगमन आउने खतरा रहेको दाबी गरे ।

अध्यक्ष भट्टराईले भने, ‘हामीले ध्यान पु¥याउन सकेनौँ भने, खासगरी एमसीसीको मुद्दामा गठबन्धनका घटकहरूका बीचमा एउटा सहमति जुटाएर हामी अगाडि बढ्न सकेनौँ भने यही बहानामा भित्री र बाहिरी शक्तिहरूले खेलेर गठबन्धन तोडिदिने अनि त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन अगाडि आउने खतरा छ । यतापट्टि हामी सबैको ध्यान आकृष्ट होस् ।’

प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्नका लागि आउँदो चुनावसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताउद अध्यक्ष भट्टराईले प्रतिगमनकारीलाई टाउको उठाउनै दिन नहुने धारणा राखे । गठबन्धनका दलहरूबीच आपसी प्रतिस्पर्धा पनि गर्दै प्रतिगमनका विरुद्ध एकढिक्का हुनुपर्नेमा उनको जोड छ ।

अध्यक्ष भट्टराईले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्रलाई अझ समृद्ध गर्दै लैजानुपर्ने आवस्यकता औल्याए । उपलब्धिहरू अपूर्ण रहेको उल्लेख गर्दै उनले त्यसलाई पूर्णता दिँदै जानुपर्ने बताए