काठमाण्डौ,५ पुस ।
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ’नियोजित हल्ला’ को संज्ञा दिएका छन् ।
आज सोमवार अर्थ मन्त्रालयमा आयोेजित पुँजीगत खर्चसम्बन्धी अन्तर–मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रका सूचकमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताए ।
पुँजीगत खर्चको स्थिति कमजोर रहेको कुरा साँचो भएको स्वीकार गर्दै मन्त्री शर्माले तर अन्य सूचक संकटमा रहेको भन्ने कुरा नियोजित हल्ला मात्रै भएको दाबी गरे ।
उनले पुँजीगत खर्चको गति बढाउन वन तथा वातावरणसँग सम्बन्धित विद्यमान ऐन, नियम संशोधन गर्नुपर्ने आवश्यकता औल्याए ।
वन क्षेत्रमा पर्ने पूर्वाधार निर्माणका लागि वन मन्त्रालयबाट सम्पादन गरिनुपर्ने कामहरू मौजुदा ऐन, नियमका कारण चाँडो हुन नसक्ने र त्यसबाट पुँजीगत खर्च प्रभावित हुने गरेको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको पुँजीगत खर्च ३० प्रतिशत पु¥याउन विभिन्न मन्त्रालयलाई आग्रह गर्दै पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले गर्नुपर्ने सहमति, समन्वयलगायतका कार्यहरू समयमै गर्ने प्रतिबद्धता जनाए ।
पुस महिनाभित्र ३० प्रतिशत पुँजीगत खर्च गर्न नसक्ने मन्त्रालयको बजेट रकमान्तर गरी खर्च भइरहको ठाँउमा पठाइदिने तयारी भइरहेको जानकारीसमेत उनले बताए ।
वनसँग सम्बन्धित समस्याहरूको चर्चा गर्ने क्रममा अर्थमन्त्री शर्माले निजी जग्गामा भएको काठसमेत जनताले उपयोग गर्न मिल्ने खालको नीति नियम बनाउनुपर्नेमा जोड दिए ।
नेपालको जङ्गलमा बहुमूल्य काठ कुहिएर खेर जाने स्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिदै उनले नेपालकै काठ सदुपयोग गर्न मिल्ने खालको नियम, कानुन बनाउनुपर्ने आबस्यकता औल्याए ।




