बुटवल,५ पुस ।
राष्ट्रिय जनमुक्ति पार्टीले एमसीसी सम्झौता फिर्ता गर्न माग गरेको छ ।
पार्टीका महासचिब टोप अस्लामीले आज एक प्रेस विज्ञप्ति जारी गरी विवादास्पद एमसीसी सम्झौतालाई फिर्ता गरिनु नै राष्ट्रिय हितमा हुने जनमुक्ति पार्टीको ठहर रहेको भन्दै त्यसलाई फिर्ता गर्न माग गरेको हो ।
संघीय संसदमा बिचाराधीन अवस्थामा रहेको एमसीसी सम्झौता संसदबाट पारित गर्ने नगर्ने बिषयमा सत्तारुढ दलहरुबीच छलफल भैरहेका बेला राष्ट्रिय जनमुक्ति पार्टीले सम्झौता फिर्ता गर्न माग गरेको हो ।
विगतका सरकारहरुले अपारदर्शी एवं गुपचुप ढङ्गबाट अनुमोदन गरी अगाडि बढाईएको र हाल देशको संघीय संसदबाट पारित गर्न खोजिएको विवादास्पद एमसीसी सम्झौता प्रकरण प्रति राष्ट्रिय जनमुक्ति पार्टी गम्भीर ध्यानाकर्षण भएको जनाउदै विज्ञप्तिमा खबरदारी गरिएको छ ।
पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोगको आवरणमा आएको एमसीसी सम्झौतामा उल्लेखित प्रावधानहरु (दफा ५ ‘क’, ६.८ र ७.१ आदि) ले नेपालको सार्वभौमसत्तालाई ठाडो चूनौति दिनु गम्भीर आपत्तिको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा सम्झौताले अन्ततः नेपाललाई ‘हिन्द प्रशान्त क्षेत्रका लागि अमेरिकी सैन्य रणनीति’संग जोड्ने गम्भीर आशंका ब्यक्त गरिएको छ ।
सम्झौताले अन्ततः नेपाललाई ‘हिन्द प्रशान्त क्षेत्रका लागि अमेरिकी सैन्य रणनीति’संग जोड्ने गम्भीर आशंका र सम्भावनाले गर्दा देशको जनमत, बौद्धिक मत र संसदीय मत समेत विभाजित र ध्रुवीकृत हुने विषम परिस्थिति सृजना भईरहेको भन्दै महासचिब अस्लामीले त्यस बिषयमा सबैको गम्भीर ध्यानाकर्षण हुनु जरुरी रहेको जनाएका छन् ।
यस्तो परिस्थितिमा विवादास्पद एमसीसी सम्झौतालाई फिर्ता गरिनु नै राष्ट्रिय हितमा हुनेछ भन्ने राष्ट्रिय जनमुक्ति पार्टीको ठहर रहेको जनाउदै विज्ञप्तिमा सम्झौता फिर्ता गर्न माग गरिएको छ ।







