काठमाडौँ,४ पुस ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना सकिएको छ ।
खुलातर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा समूहको वर्चस्व कायम भएको छ ।
निर्वाचित ३५ मध्ये २५ जना देउवा पक्षका उम्मेदवार रहेका छन् ।
शेखर कोइराला समूहबाट अर्जुननरसिंह केसी, रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसी, दीपक गिरी, गोविन्दराज पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु शिवाकोटी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
दुवै गुटबाट उम्मेदवार बनेका पूर्वमहामन्त्री शशांक कोइरालाले सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । देउवा समूहका एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र गोपालमान श्रेष्ठ निर्वाचित भएका छन् ।
नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत र नेविसंघका अध्यक्ष राजिव ढुंगाना पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै, सुनीलबहादुर थापा, मोहनबहादुर बस्नेत, नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, मदनबहादुर अमात्य, उमेशजंङ्ग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मोहन आचार्य पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेसको महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यस्तै तीन केन्द्रीय सदस्यको पनि परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश २ को खुलाबाट आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल तथा महिलाबाट चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
हरेक प्रदेशबाट २ खुला र १ महिला गरी तीन जना केन्द्रीय सदस्यहरु केन्द्रमा आउने छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्य निर्वाचित हुने कांग्रेसको विधानको व्यवस्था छ ।
१६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ ।
पार्टी मुख्यालय सानेपामा हिजो बिहान ११ बजेदेखि भएको गणना राति ११ बजेसम्म चलेपछि आज बिहान ११ बजेदेखि पुनः गणना गरिएको थियो ।





