काठमाण्डौं,४ पुस ।
नेपाली कांग्रेसको १४ औँ महाधिबेसन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना शीर्ष नेपाहरु अग्र सस्थानमा देखिएका छन् ।

तीन हजार ५९५ मत गणना हुँदा डा. शशांक कोइरालाको अग्रता कायमै छ । उनले दुई हजार ९४० मत प्राप्त गरेका छन भने एनपी साउदले दुई हजार २६१ र तेस्रोमा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले दुई हजार २०७ मत प्राप्त गरेका छन् ।

यस्तै उदय शम्शेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जीपछिरिङ लामा, अर्जुननरसिंह केसी बढी मत ल्याउने १० जनाभित्र रहेका छन् । गोपालमान श्रेष्ठ, जीतजंग बस्नेत, डा. रामशरण महत, नैनसिंह महर, सुनीलबहादुर थापा, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, दीपक गिरी, कुन्दनराज काफ्ले लगायत प्रायः उच्च तहका नेताहरू बढी मत ल्याउने ३५ जनाको सूचीमा समेटिएका छन् ।

खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने व्यवस्था छ । चुनावमा अहिलेसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री र प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा जम्मा चार सय ८७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले अब एक हप्तामा सबै पदको मतगणना भइसक्ने जनाएको छ ।