काठमाण्डौ,४ पुस ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुंगोमा पुग्न सत्तारुढ ५ दलीय गठबन्धनले ३ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि आइतबार सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो ।
सो बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो । कार्यदलले एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने गठबन्धनका एक नेताले जानकारी दिए ।
तीन सदस्यीय कार्यदलको नेतृत्व गरेका खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए ।
खनालले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने बताउँदै आएका छन् । त्यसैगरी कार्यदलमा रहेका माओवादी नेता श्रेष्ठ पनि एमसीसी यही अवस्थामा पारित हुन नहुने लाइनमा छन् । कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता हुन् ।
तीन सदस्यीय कार्यदल गठनलगत्तै आइतबार बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो ।
सो बैठकमा काँग्रेसबाहेक सबै दलका नेताले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने अडान राखेका थिए ।
सर्वदलीय बैठकमा डाकिएपनि प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित रहेको थियो । गठबन्धनको बैठकले एमालेसँग समेत छलफल गर्ने जिम्मेवारी कार्यदललाई दिएको एक नेताले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा हुँदा एमसीसी पारित हुनुपर्ने बताउँदै आएपनि सरकारबाट बाहिरिएपछि भने एमसीसीबारे अस्पष्ट धारणा राख्दै आएको छ ।






