
निरन्तर संसद अवरुद्ध हुँदा जनताका आवाज संसदमा उठ्न नसकेको निष्कर्ष
काठमाण्डौ,४ पुस ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छन् ।
आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै भए पनि जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित नहुने बैठकको निष्कर्ष रहेको कार्कीले जानकारी दिए ।
प्रतिपक्षले उठाएका विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार रहेको प्रवक्ता कार्कीले बताए ।
एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ ।
सर्वदलीय बैठकले संघीय संसद निरन्तर अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको निष्कर्ष निकालेको छ ।





