बुटवल,२ पुस ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ ।
जसमा संस्थापन पक्षले बढी सिट जितेको छ । उपसभापतिमा देउवाबाट पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षका धनराज गुरुङ निर्वाचित भएका छन् भने महामन्त्रीमा कोइराला पक्षका गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भए ।

सहमहामन्त्री पदमा भने देउवा पक्षले वर्चश्व कायम गरेको छ । विभिन्न क्लस्टरबाट आठ जना सहमहामन्त्री निर्वाचित भएकोमा देउवा पक्षका ६ जना विजयी भएका छन् । डा. शेखर कोइराला पक्षका दुई जनामात्र निर्वाचित भएका छन् ।

सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, मधेसीबाट महेन्द्र यादव, मुश्लिमबाट फरमुल्ला मन्सुर, खस–आर्यबाट किशोरसिं राठौर, थारुबाट उमाकान्त चौधरी,दलितबाट जीवन परियार र पिछडिएकोबाट बद्री पाण्डे निर्वाचित भए । परियार र पाण्डे संस्थापन इतरका हुन् भने बाँकी सबै संस्थापन पक्षबाट लडेका थिए ।

चौधरी कृष्णप्रसाद सिटौला पक्षका भए पनि सिटौला र देउवाबीच चुनावी तालमेल भएको थियो । महामन्त्रीमा सिटौला पक्षबाट संस्थापनको उम्मेदवार बनेका प्रदीप पौडेल भने पराजित भए ।