बुटवल,२ पुस ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवन्द्र पौडेलले अधिकारसँगसँगै शिक्षकहरुले आफ्नो कर्तब्य पालनामा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार बुटवलमा आयोजित माध्यमिक विद्यालयको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै मन्त्री पौडेलले अधिकारसँगसँगै शिक्षकहरुले आफ्नो कर्तब्य पालनामा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

शिक्षकहरुले उठाएका मागहरु सम्बोधन गर्ने बिषयमा मन्त्रालयले आवस्यक छलफल भैरहेको भन्दै मन्त्री पौडेलले शिक्षकहरुका जायज माग छिट्टै सम्बोधन हुने आश्वासन दिए ।

इमान्दारीता,मेहनत र लगनशील भएर काम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण कान्ति जस्ता केही सरकारी विद्यालयहरुले देखाएको भन्दै उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने कार्यमा सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त हुदैन भन्ने नकारात्मक सन्देश प्रवाह भैरहेको भन्दै मन्त्री पौडेलले त्यसलाई चिर्न सरकारी विद्यालयहरुले थप मेहनत गर्नुपर्नेमा जोड दिए ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नकै लागि सरकारले १७ हजार शिक्षक पदपूर्ती गर्ने प्रकृया सुरु गरेको भन्दै उनले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर दरबन्दी मिलान र नयाँ शिक्षक नियुक्त गरिने बताए ।

अहिलेको शिक्षा सीपसँग र सीप उत्पादनसँग जोड्ने खालको हुनुपर्ने उनको भनाई थियो ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष हेमानन्द शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उप प्रमुख गुमादेबी आचार्य,विद्यालयका प्रचार्य गोविन्द ज्ञवाली लगायतले यस क्षेत्रको शैक्षिक विकासमा कान्ति माबिले पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।

सो अवसरमा उत्कृष्ठ नतिजा ल्याउने बिषयगत शिक्षकहरुलाई सम्मान गरिएको थियो ।