लुम्बिनी,२ पुस ।
लुम्बिनीस्थित बसपार्कमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट भएको छ । आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेष्टुरेण्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
बिहीबार राती २ बजे भएको आगलागीबाट झण्डै ७०/७५ लाखको क्षति भएको स्थानीयकाे आकलन छ । दमकल आउन ढिला हुँदा डेढ घण्टापछि मात्रै आगाे नियन्त्रणमा आएको स्थानीयकाे गुनासो छ ।
आगलागी पछि दमकलका लागि तत्कालै लुम्बिनी सांस्कृतिक नगरपालिकामा फोन गरे पनि दमकल नआएपछि आगो नियन्त्रणमा आउन ढिला भएको भन्दै स्थानीयको आक्रोश छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट समयमा दमकल नआएपछि भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा दमकलका लागि फोन गरिएको थियो। भैरहवाबाट दमकल आएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो।
स्थानीय युवाहरुले पसलमा लगाएका टीनका पाता निकालेर आगो नियन्त्रण गर्दा ठुलो क्षति हुनबाट जोगिएको र आगो
पूर्ण रुपमा नियन्त्रणमा आएपछि मात्रै दमकल घटनास्थलमा पुगेको स्थानीयको आराेप छ ।






