काठमाण्डौ,१ पुस ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मत गणना सुरु भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मत गणना सुरु भएको हो ।

पछिल्लो मतपरिणाम अनुसार सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर देखिएको छ । ३ हजार ७७ मत गणना हुँदा विश्वकर्माले ७ मत अग्रता लिएका हुन् ।

मानबहादुर विश्वकर्माले १४४३ मत पाएका छन भने परियारले १४३५ मत ल्याएका छन् । दलित तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।

महिलातर्फ १,५०४ मतको गणना भएको छ, जसमा महालक्ष्मी उपाध्याय डिनाले ८०६ मत पाउँदा कमला पन्तले ६८३ मत पाएकी छन् ।

आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बेले ५१८ मत पाउँदा विकास लामाले ३५७ मत पाएका छन् ।

परियार शेखर कोइराला प्यानलका सहमहामन्त्रीका उम्मेदवार हुन् भने विश्वकर्मा शेरबहादुर समूहबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सभापतिबाहेक अन्य पदको मत गणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी एक सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने अहिलेको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा ब्यवस्था छ ।